Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

अन्तर्राष्ट्रिय योग दिवसमा ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा सार्वजनिक हुँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, असार, ५
अन्तर्राष्ट्रिय योग दिवसमा ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा सार्वजनिक हुँदै

काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) को अवसरमा सद्गुरुको मार्गदर्शनमा ईशा फाउन्डेसनका स्वयंसेवकद्वारा विकसित ध्यानसम्बन्धी ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा सार्वजनिक गरिने भएको छ। एपको औपचारिक शुभारम्भ काठमाडौंको बालुवाटारस्थित टी–२१ प्यालेसमा आयोजना हुने विशेष ध्यान कार्यक्रममा गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार ‘मिराकल अफ माइन्ड’ निर्देशनसहित ध्यान गर्न सकिने एप हो, जसको उद्देश्य प्रयोगकर्तालाई नियमित ध्यान अभ्यासतर्फ प्रेरित गर्दै मानसिक शान्ति र एकाग्रता विकासमा सहयोग पुर्‍याउनु हो। एपमा सात मिनेटको निर्देशित ध्यान समावेश गरिएको छ, जसलाई दैनिक अभ्यासका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ।

ईशा फाउन्डेसनका अनुसार सद्गुरुले विगत चार दशकदेखि योग, ध्यान र आन्तरिक रूपान्तरणका माध्यमबाट मानव चेतनाको विकासका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्। सोही प्रयासअन्तर्गत ‘मिराकल अफ माइन्ड’ एप विकास गरिएको बताइएको छ।

आयोजकले सार्वजनिक गरेको विवरणअनुसार विश्वव्यापी रूपमा मानसिक स्वास्थ्यसम्बन्धी चुनौती बढिरहेका छन्। विभिन्न अध्ययनहरूलाई उद्धृत गर्दै हाल करिब १.२ अर्ब मानिस कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट प्रभावित रहेको उल्लेख गरिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ९एनएचआरसी० को तथ्यांकअनुसार करिब १० प्रतिशत नेपाली वयस्कले जीवनकालमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या अनुभव गर्ने अनुमान गरिएको छ, जसमा डिप्रेसन र चिन्ता प्रमुख रहेका छन्। यही अवस्थालाई मध्यनजर गर्दै ध्यानलाई मानसिक स्वास्थ्य प्रवर्द्धनको एक पूरक अभ्यासका रूपमा प्रवर्द्धन गर्न एप नेपाली भाषामा उपलब्ध गराइएको आयोजकको भनाइ छ।

आयोजकका अनुसार ‘मिराकल अफ माइन्ड’ एप २६ फेब्रुअरी २०२५ मा सार्वजनिक गरिएको थियो। सार्वजनिक भएको १५ घण्टाभित्रै यसलाई १० लाखभन्दा बढी पटक डाउनलोड गरिएको तथा २४ घण्टाभित्र अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया, सिंगापुर, जर्मनी, भारतलगायत २० देशमा ट्रेन्डिङ सूचीमा पर्न सफल भएको दाबी गरिएको छ। भारतको आईओएस एप स्टोरमा भने यो ‘हेल्थ एन्ड फिटनेस’ विधामा पहिलो स्थानमा पुगेको आयोजकले जनाएको छ।

आयोजकले एपको दीर्घकालीन लक्ष्य विश्वभरका अर्बौं मानिससम्म ध्यान अभ्यासलाई सहज रूपमा पुर्‍याई मानसिक सन्तुलन र आन्तरिक कल्याण प्रवर्द्धन गर्नु रहेको जनाएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स