एउटै आयोजनामा साढे चार करोड भ्रष्टाचार, यसरी खुल्यो रहस्य
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना परवानीपुर बाराका आयोजना प्रमुखसहित पाँच जनाविरुद्ध साढे तीन करोड रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौंँमा मुद्दा दायर गरेको छ ।
अख्तियारले आयोजनका प्रमुख राजकुमार श्रीवास्तवसहित अन्य पाँच जनाविरुद्ध पुस १ गते पनि ९६ लाख ६४ हजार २९६ रुपियाँको बिगो दाबी गर्दै मुद्दा दायर गरिसकेको छ । दुई भ्रष्टाचार प्रकरणमा श्रीवास्तव एक्लैलाई चार करोड ६१ लाख ७३ हजार ७५२ रुपियाँ बिगो कायम गरी भ्रष्टाचारको मुद्दा परेको छ ।
एउटै आयोजनामा यति ठूलो रकम हिनामिना गर्दा पनि माथिल्लो निकायले अनुगमन, छानबिन ग¥यो कि गरेन भन्ने अख्तियारले खुलाएको छैन । आयोगले राजकुमार श्रीवास्तवसँगको मिलोमतो गर्ने अन्य चार जना इन्जिनियर पाण्डवप्रसाद देव तथा रवि सिंह, मदनकुमार अधिकारी र सन्तोष प्रधान (शाही)विरुद्ध जनही तीन करोड ६५ लाख नौ हजार ४५६ रुपियाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ ।
आयोजना प्रमुख श्रीवास्तव र इन्जिनियर पाण्डवप्रसाद देवले स्टन्ट निर्माणमा प्रयोग भएको ग्याबियन तारको गुणस्तर परीक्षण गरी स्पेसिफिकेसन बमोजिमको गुणस्तर यकिन गरेर मात्र ग्याबियन तार प्रयोग गराउनुपर्नेमा त्यसो गरेको पाइएन । त्यतिमा होइन प्रथम रनिङ बिलदेखि सातौँ रनिङ बिलसम्मका सातवटा बिलको भुक्तानी गर्दा कुनै परीक्षण नै गरेको नपाइएको ठहर छ ।
त्यसरी परीक्षण नै नगरी स्टन्ट निर्माणमा प्रयोग भएको गुणस्तरहीन ग्याबियन तारलाई स्वीकृत स्पेसिफिकेसन बमोजिम गुणस्तरयुक्त भएको भनी इन्जिनियर पाण्डवप्रसाद देवले सिफारिस गरेको तथा आयोजना प्रमुख श्रीवास्तवले बिल स्वीकृत गरी भुक्तानी गराएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार, निर्धारित सर्त र सम्झौताविपरीत कम गुणस्तरको स्टन्ट निर्माण गरी कम गुणस्तरको ग्याबियन तारबाट निर्मित संरचनालाई गुणस्तरयुक्त भनी भुक्तानी लिने महादेव खिम्ती र मैनाचुली जेभी पनि कारबाहीमा परेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


