Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

बिनाटिकट पर्यटकलाई बौद्ध क्षेत्र प्रवेश गराउनेमाथि कारबाही गरिने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २३
बिनाटिकट पर्यटकलाई बौद्ध क्षेत्र प्रवेश गराउनेमाथि कारबाही गरिने

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र आउने पर्यटकलाई बिनाटिकट प्रवेश गराउने पथप्रदर्शक र होटल व्यवसायीलाई कारबाहीको दायरामा ल्याइने भएको छ ।

पथप्रदर्शक र होटल व्यवसायीको मिलेमतोमा बिनाटिकट पर्यटक छिराएको तथ्य फेला परेपछि बौद्धनाथ क्षेत्र विकास समितिले कारबाहीको दायरामा ल्याउन लागेको हो । कारबाहीका लागि पहिलो चरणमा चुच्चेपाटीबाट जोरपाटी क्षेत्रमा रहेका होटलको सूची तयार पार्न थालिएको समितिका कार्यकारी निर्देशक नयनकुमार लामाले जानकारी दिए ।

समितिको टिकट काउन्टर बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने गरेको छ । होटलमा आउने पर्यटक ५ बजे आएर राति बस्ने बिहान बौद्धनाथ क्षेत्रमा छिर्दा टिकट नलिने गरेको पाइएको समितिले जनाएको छ । होटल व्यवसायी, पथप्रदर्शक र टिकट काउन्टरमा खटिने कर्मचारीको मिलेमतोमा समेत टिकट नलिएका पर्यटकलाई बौद्धनाथ क्षेत्रमा प्रवेश गराउने गरिएको छ ।

होटल, पथप्रदर्शक र टिकट काउन्टरका कर्मचारीको निगरानी गरी सुरक्षाकर्मीले जाँच गरेका बेला पर्यटकसँग टिकट माग्दा नपाएमा पथप्रदर्शक र पर्यटक बस्ने होटललाई कारबाहीको दायरामा ल्याउनका लागि पहिलो चरणमा होटल व्यवसयायीसँग समितिले छलफलसमेत गरेको छ ।

समितिले सार्क मुलुकका पर्यटकसँग रु एक सय र सार्क बाहिरका पर्यटकसँग रु चार सय शुल्क लिने गरेको छ । बौद्ध क्षेत्रमा मासिक हजारौँ पर्यटक अवलोकनका लागि आउने गरेका छन् । रासस

naima expoTop Changing Nepal

युट्युब सट्स