Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो आज नेपाल आउँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, १२
अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो आज नेपाल आउँदै

काठमाडौँ । कार्यवाहक अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो आज नेपाल भ्रमणमा आउँदैछिन्। विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो आज दिउँसो काठमाडौं आइपुग्ने भएकी हुन्। अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारी ट्रुडोले नेपालमा रहँदा मिथ्या सूचना र लोकतन्त्रमा सञ्चारको भूमिकाबारे विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्तिमा जनाएको छ।

अमेरिकाले चीनले नेपालमा अमेरिकी परियोजनाविरुद्ध भ्रमपूर्ण सूचना फैलाएको आरोप लगाइरहेको छ। नेपाल भ्रमणमा आउन लागेकी अमेरिकी वरिष्ठ कूटनीतिज्ञ ट्रुडोले चीनका तर्फबाट अमेरिका र अमेरिकी मान्यताविरुद्ध फैलाइएका मिथ्या सूचनाको प्रतिवाद कसरी गर्न सकिन्छ भन्नेबारे छलफल गर्नेछिन्।

पछिल्लोपटक नेपालमा अमेरिकाले अघि सारेको मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० परियोजनाबारे चीनले सामाजिक सञ्जाल र मिडियामार्फत भ्रमणपूर्ण सूचना दिएको आरोप अमेरिकाले लगाएको थियो। तर चीनले उक्त आरोप अस्वीकार गरेको थियो। नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनले अमेरिकी संसद् सिनेटमा गत जुलाईमा संसदीय सुनुवाइका क्रममा चीनले एमसीसीबारे भ्रमणपूर्ण सूचना फिँजाए पनि नेपालको संसदले एमसीसी परियोजना पास गरेको बताएका थिए।

त्यसलगत्तै नेपालस्थित चिनियाँ दूतावासले उक्त आरोपको खण्डन गरेको थियो। चिनियाँ दूतावासले अमेरिकी राजदूतको अभिव्यक्ति चीनलाई बदनामी गराउने चालका रूपमा व्याख्या गर्दै राजदूतको भनाइले नेपाल र नेपाली जनताको अपमान भएको बताएको थियो।

अमेरिकी विदेश मन्त्रालय स्टेट डिपार्टमेन्टका अनुसार उनले नेपालमा रहँदा अल्पसंख्यक समूहका अभियन्ता र सञ्चार क्षेत्रका व्यक्तिसँग भेट्नेछिन्। उनले विगतमा अमेरिकी दूतावासको प्रायोजनामा अमेरिका भ्रमण गरेका केही नेपालीसँग पनि छलफल गर्नेछिन्। नेपाल बसाइमा ट्रुडोले अमेरिकी राजदूत सम्पदा संरक्षण कोषले सहयोग गरिरहेका पाटन दरबार क्षेत्र र वसन्तपुर दरबार क्षेत्रलगायत सांस्कृतिक सम्पदा अवलोकन गर्नेछिन्।

अमेरिकी कूटनीतिज्ञ ट्रुडोले नेपालमा राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम भने नरहेको अमेरिकी दूतावासका अधिकारीहरुले बताए। उनी नेपालको मात्रै भ्रमणमा आउन लागेकी होइनन्। १२ दिनको विदेश यात्रामा उनी नेपालपछि संयुक्त अरब इमिरेट्स जानेछिन्। त्यसपछि उनी मध्य एसियाका उज्वेकिस्तान र किर्गिस्तान जानेछिन्।

चीन र रुसले मिडिया र सामाजिक सञ्जालमार्फत ती देशमा अमेरिकी स्वार्थविरुद्ध भ्रमपूर्ण सूचना फैलाएको आरोप अमेरिकाले लगाइरहेको छ। तर रुस र चीनले त्यसको प्रतिवाद गरिरहेका छन्। नेपाल, संयुक्त अरब इमिरेट्स, उज्वेकिस्तान र किर्गिस्तानमा रहेका अमेरिकी दूतावासले अहिले पनि चीन र रुसले फिँजाएका भ्रमणपूर्ण सूचनाविरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्। अमेरिकी कूटनीतिज्ञ ट्रुडो विगतमा अमेरिकी रक्षा मन्त्रालयको उच्च ओहदामा रहेर काम गरिसकेकी व्यक्ति हुन्।

naima expoTop Changing Nepal

युट्युब सट्स