नौमती बाजामार्फत जातीय भेदभाव मेटाउँदै महिला
टङ्कीसिनवारी । नौमती बाजामार्फत जातीय भेदभाव मेटाउन अग्रणीरूपमा यहाँका महिला सक्रिय देखिएका छन् । बाहुन, राई, दलितलगायत समुदायका महिलाले जातीय भेदभाव र छुवाछूतजस्ता सामाजिक विकृतिलाई तोड्दै नौमती बाजा बजाउनका लागि समूह गठन गरेका छन् ।
इटहरीस्थित तलेजु नौमती बाजा महिला समूहमा ३० महिला आबद्ध छन् । समूहमा मिश्रित समुदायका महिला सहभागी छन् । एकपटक नौमती बाजा बजाएको रू २५ देखि रू ३० हजार लिने गरिएको छ । समूहका महिलाले आफूलाई तीन टोलीमा विभक्त गराई विभिन्न स्थानमा नौमती बाजा बजाउन जाने गरेका छन् ।
केही समय पहिलेसम्म कुनै एक समुदाय विशेषका पुरूषले मात्र नौमती बाजा बजाउने चलन थियो । उक्त परम्परा तोड्दै जातिय भेदभाव जगाउने उद्देश्यले समुदायका सबैले नौमती बाजा बजाउन थालेका छन् । नौमती बाजामा पुरूष एकाधिकारको अन्त्य गर्दै कतिपय बाहुन, क्षेत्री समुदायका महिलाले पनि बाजा बजाएर आर्थिक आम्दानी गरिरहेका छन् ।
“नौमती बाजाले विभिन्न जाति र समुदायका महिलाबीच जातीय सौहार्दता कायम गर्न मद्दत गरेको छ”, समूहका सदस्य यमुना बुढाथोकीले भने, “पारम्परिक बाजा बजाएर जीवनयापन गर्ने महिलालाई हेयको दृष्टिले हेर्ने समाजमा अहिले सकारात्मक परिवर्तन आउन थालेको छ ।” उनका अनुसार महिला वाद्यवादकलाई समाजले स्वीकार्न सुरू गरेको छ ।
विवाह, व्रतबन्ध, पास्नीलगायत विशेष अवसरमा पञ्चे र नौमती बाजा बजाएर मनग्य आम्दानी गर्न महिला सफल हुँदै गएका बुढाथोकीको भनाइ थियो । उनले समूहका महिलाले शुभकार्यका साथै विभिन्न अवसरमा नौमती बाजा बजाउने गरेका भन्दै बाजा बजाउन समूहका महिलालाई वर्षको आधाजसो समय भ्याइनभ्याइ हुने गरेको सुनाए ।
वैवाहिक कार्यक्रममा नौमती बाजा बजाउन उक्त समूहको एक टोली विराटनगर पुग्दा त्यहाँ महिलाले नौमती बाजा बजाएको देखेर विराटनगरवासीले उत्सुकतापूर्वक हेरेका बुढाथोकीले बताए । “समाजमा रहेका विभिन्न जातजातीका महिला आबद्ध भएर महिलाले पनि पुरूषसरह काम गर्न सक्छन् भन्ने सन्देश दिनका एकजुट भएका छौँ”, उनले भने, “हाम्रो समूहले सामाजिक सद्भाव कायम गर्दै जातीय भेदभाव अन्त्य गर्ने उद्देश्यले काम गरिरहेको छ ।”
महिला कमजोर भएर घरै बस्नु हुँदैन भन्ने सोचका साथ आफूले नौमती बाजा बजाउन सिकेको बुढाथोकीको भनाइ थियो । उनले सुरूसुरूमा बाजा बजाउँदा समाजका केही अगुवाले बाटो विराए भनेर तर्क गरे पनि अहिले विस्तारै सबैको सोच बद्लिँदै गएको बताए । उनले कुनै पनि पेसा ठूलो सानो नहुने भन्दै नौमती बाजाले आफूलाई सशक्त हुन प्रेरणा दिएको बताए ।
समूहका अर्का सदस्य गीता कटुवालले ७० वर्षको उमेरमा नौमती बाजा बजाउँदै नाच्दै हिँड्ने गरेको बताए । घर बस्नुभन्दा नौमती बाजा बजाउन सिकेर हिँड्दा आम्दानी पनि हुने गरेको उनको भनाइ थियो । कटुवालले भोजभतेरमा कतिपयले खानेकुरा छुन नदिने र पर बस भनेर अझै भन्ने गरेको गुनासो गरे । “हामी जहाँ जान्छौँ त्यहीँ जातीय सौहार्दता र सामाजिक एकताको सन्देश दिने गरेका छौँ”, उनले भने ।
नौमती बाजा बजाउने टोलीका सदस्यहरु सम्पूर्ण पोखरेल, शशिकला दाहाल, यशोदा सुवेदी, तेजकुमारी राई, कविता राईले कोरोनाकालमा घरमै बसेका बेला आय आम्दानी नहुँदा जीविकोपार्जनमा समस्या परेको बताए।
“महिलाले पनि कमाएर खान सक्छन् भनेर सन्देश दिनका लागि घर छिमेक र समुदायका महिला मिलेर नौमती बाजा बजाउन सिकी व्यावसायिक रुपमा बाजा बजाउन थालेका छौँ”, कविता राईले भने । सुरूमा घरपरिवार र समाजले हेयको दृष्टिले हेरे पनि सामाजिक सदभाव जगाउँदै जातीय भेदभाव अन्त्यका लागि महिला एकजुट भएर काम गरिरहेको उनको भनाइ थियो ।
समूहका सदस्यले कुनै पनि काम सानो वा ठूलो नहुने भन्दै जातपातका नाममा हुने भेदभावबाट समाज मुक्त हुनुपर्नेमा जोड दिँदै जातीय एकताका लागि पनि एकजुट भएर नौमती बाजा बजाउन थालिएको बताएका छन् ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


