तरकारी खेतीबाट २५ लाख बढी आम्दानी
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा २५ लाख बढी आम्दानी गर्दै आएका छन् ।
डेढ दशकदेखि तरकारी खेतीमा संलग्न खड्काले दुई बिघा १० कट्ठा जग्गामा खेती गर्दै आएका हुन् । दश कठ्ठा मात्रै आफ्नो जग्गा भएका बताउँदै उनले दुई बिघा तरकारी खेतीका लागि भाडामा लिएको जानकारी दिए । उनका अनुसार वार्षिक एक सय टन बढी तरकारी उत्पादन हुने गरेको छ ।
मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आएको भन्दै खड्काले अहिले खेतमा काउली, बन्दा, गोलभेडा, सुर्खानी, भान्टा, मुला, सिमला मिर्च, हरियो र धनियाँ लगाइएको बताए । “केही महिनाअघि मात्रै हरियो धनियाँ र सागपात मात्रै दुई लाख बढीको बिक्री भएको छ”, उनले भने, “वर्षमा १० लाख बढीको काउली मात्रै बिक्री हुने गरेको छ ।” उत्पादित तरकारी महेन्द्रनगर बजार पुर्याएर बेच्दै आएको उनले बताए ।
खड्का वडाका एक्ला व्यावसायिक तरकारीखेती गर्ने किसानका रुपमा रहेका छन् । तरकारी खेतीसम्बन्धी तालिम नलिएको जनाउँदै खड्काले अरुका बारीमा तरकारीका लागि खेत तयार गर्ने र लगाउने गरेर सिकेको बताए। त्यसरी सिकेको सीपलाई निरन्तरता दिँदै आएको उनको भनाइ थियो ।
“कुनै निकायबाट तरकारी खेतीसम्बन्धी सीप सिक्ने अवसर पाइएन”, खड्काले भने, “गर्दै जाँदा सिकिँदोरहेछ । तालिम नलिए पनि तरकारी खेतीमा अरुभन्दा कम छैन । यसैबाट जीविकोपार्जन भइरहेको छ ।”
किसान परियोजना–२ बाट एउटा सिँचाइका लागि बोरिङ र सुदूरपश्चिम क्षेत्रीय कृषि निर्देशनालयबाट ५० प्रतिशत अनुदानमा एउटा खेत जोत्ने पावर टिलर सहयोग पाएको उनले जानकारी दिए । “तरकारी खेतीका लागि अन्य अनुदान पाइन्छ भन्छन् त्यो पनि पाएको छैन, आफ्नै सीप र पौरखमा तरकारी खेतीलाई अगाडि बढाउँदै आएका छौँ”, उनले भने।
तरकारी खेतीबाट आएको आम्दानीले १२ जनाको संयुक्त परिवारको जीविकोपार्जन भएको जनाउँदै खड्काले पक्की घरसमेत बनाएको बताए। “छोरा, बुहारी, म र श्रीमती बिहानदेखि साँझसम्म तरकारी बारीमा काम गरिरहेको हुन्छौँ”, उनले भने, “खेतीमा सिँचाइ गर्ने, गोडमेल गर्ने, तरकारी टिप्ने र बजारसम्म लगेर बिक्री गर्ने कार्यमा व्यस्ता हुन्छौँ ।”
तरकारीखेती गर्नु अघि खड्काले स्वामित्वको जग्गामा अरु किसानले झैँ धान, गहुँ खेती लगाउने गर्थे । परिवारका लागि वर्षभरि खान पनि मुश्किलले पुग्ने गर्दथ्यो । घर खर्च चलाउनका लागि रु १५ लाखसम्म ऋण लागेको उनले सुनाए ।
“सुरुआतमा एक कट्ठा जग्गामा तरकारीखेती गर्यौँ । २५ हजार आम्दानी भयो, धान, गहुँभन्दा निकै आम्दानी हुने भएपछि तरकारी खेतीको क्षेत्रफल बढाउँदै लग्यौँ”, खड्काले भने, “आम्दानी बढ्दै गयो, घर खर्च चलाउन लिइएको ऋण तिर्न भ्यायौँ ।” केही वर्षदेखि जग्गा भाडामा लिएर तरकारीखेती गर्न थालेपछि आम्दानी थप बढ्न थालेको उनको भनाइ थियो । रासस
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

