बागलुङमा यस वर्ष २० करोडको सुन्तला उत्पादन
काठमाडौं । बागलुङको सुन्तला गाउँका रुपमा परिचित सिगानाका किसानले यसवर्ष सुन्तला बिक्री गरेर तीन करोड भित्राएका छन् । गतवर्ष भन्दा यस वर्ष सिगानामा सुन्तला उत्पादनमा वृद्धि भएको किसानको भनाइ थियो । यस वर्ष उनीहरुले गत वर्षकै मूल्यमा बगैँचा नै व्यापारीलाई बिक्री गरेका थिए। बोटबाटै सुन्तला बिक्री गर्दा सरदर मूल्य प्रतिकेजी ५० पर्न गएको छ ।
यस वर्ष उत्पादित यहाँको सुन्तला ९० प्रतिशत बजार पुगिसकेको छ । गणेश कृषि व्यावसायिक सहकारीमार्फत सुन्तलाको बजारीकरण समेत हुँदै आएको छ । बागलुङ नगरपालिका–८ सिगानाका किसानले सुन्तला बिक्रीबाट रु तीन करोड भित्राउन सफल भएका हुन् । सहकारीले सङ्कलन गरेको तथ्याङ्कअनुसार गत वर्ष सुन्तला बिक्रीबाट रु दुई करोड ७५ लाख भित्राइएको थियो । यस वर्ष तीन करोड ५० लाखको सुन्तला बिक्री गर्ने लक्ष्य रहेपनि मूल्य वृद्धि नहुँदा करिब तीन करोडको मात्रै बिक्री भएको किसानले बताएका छन् ।
अहिले सहकारीले सुन्तला बिक्रीको तथ्याङ्क सङ्कलन गरिरहेको सहकारीका सल्लाहकार एवं अगुवा सुन्तला किसान शिवकुमार खड्काले बताए । “गत वर्ष तीन करोडको अनुमान गरिएकामा सबै तथ्याङ्क रु दुई करोड ७५ लाख गाउँ भित्रिएको पाइयो”, उनले भने, “अहिले गत वर्ष भन्दा केही बढी आम्दानी भएको छ ।”
सिगाना गाउँको साविक ३, ४, ५ र ७ वडामा सुन्तला राम्रो उत्पादन हुने खड्काले जानकारी दिए । “सहकारीमा मात्रै आबद्ध एक सय ५० किसान सुन्तला खेतीमा छन्”, उनले भने, “सहकारीमार्फत ४० हजार नयाँ बिरुवा अनुदानमा वितरण गरिरहेको थियो । अबको पाँच वर्षमा रु पाँच करोडको सुन्तला बिक्री गर्ने लक्ष्य रहेको छ ।”
आठ रोपनी जग्गामा व्यावसायिक सुन्तलाखेती गर्नुभएका अनन्तबहादुर खड्काले यस वर्ष पाँच लाख ५० हजारमा सुन्तला बगान पोखराका व्यापारीलाई बिक्री गरेको बताए । उनले यस वर्ष सुन्तलाको उत्पादन बढेपनि मुल्य भने पोहरकै भएकाले आम्दानी पनि उस्तै भएको बताए ।
सिगानाका किसानले न्यूनतम २५ हजारदेखि अधिकतम पाँच लाखसम्म सुन्तलाको बिक्री गर्दै आएका छन् । खड्काका अनुसार पोखरा, चितवन, नारायणगढ र धादिङका व्यापारीले यहाँका सुन्तला बोटबाटै टिपेर लैजाने गरेका छन् । बगैँचा विस्तार र मलजलको उचित व्यवस्था भए सुन्तालाको उत्पादन राम्रो हुने उनको भनाइ थियो ।
यसवर्ष सुन्तलाको दाना राम्रो फलेको भन्दै किसान रामबहादुर खड्काले अधिकांश किसानले बोट नै ठेक्कामा दिएका बताए । उनका अनुसार नयाँ सुन्तला बगैँचा बढिरहेकाले यहाँका किसानले वार्षिक ५० लाखका दरले उत्पादनमा वृद्धि गर्ने लक्ष्य लिएका छन् । सिगानामा १२ हजारभन्दा बढी सुन्तलाको बोटले उत्पादन दिइराखेका छन् भने ४० हजारभन्दा बढी नयाँ बिरुवा हुर्किरहेका छन् ।
सुन्तला जोन क्षेत्रमा समेटिएको सिगानामा छ वर्ष अघिदेखि व्यावसायिक सुन्तला खेती वृद्धिका लागि अन्य रुख फडानी गर्ने अभियान वडा कार्यालयले चलाएको थियो । अहिले प्रतिकिलो होलसेल मूल्य ५० देखि ६० का दरले बिक्री भइरहेको छ ।
सिगानाको बेसी, वडा कार्यालय क्षेत्र, बाँस्कोटलगायत स्थानमा अधिकांश जमिन सुन्तला खेतीले ढाकेको छ । सिगानासँगै बागलुङको बिहुँ, तित्याङ, भकुण्डे, लेखानी, सर्कुवा र दमेकलगायत स्थान सुन्तला खेतीका लागि उर्बर मानिन्छन् ।
जिल्लामा करिब पाँच हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले जानकारी दिए । उनका अनुसार समग्र जिल्लामा यस वर्ष २० करोडको सुन्तला उत्पादन भएको छ ।
सम्बन्धित समाचार
विश्व खडेरीको चपेटामा : ‘एल निनो’ विगत १५० वर्षयताकै सबैभन्दा शक्तिशाली हुने
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


