काठमाडौं महानगरको दोस्रो संस्करणको ‘सीप मेला’ जेठ पहिलो सातादेखि
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी जेठ ७ गतेदेखि दोस्रो संस्करणको ‘सीप मेला २०८२’ आयोजना गर्ने भएको छ । अघिल्लो वर्षझैँ टुँडिखेलमा सञ्चालन गर्न लागिएको उक्त मेलामा दुई हजार ८२ जनालाई सहभागी गराउने लक्ष्य रहेको कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) ले जानकारी दिए ।
सीपयुक्त जनशक्ति भए मात्र सुरक्षित रोजगारी हुने, उत्पादन वृद्धिमा योगदान हुने र यस चक्रबाट देशको आर्थिक समृद्धिमा योगदान पुग्ने प्रमुख शाहको धारणा रहेको छ। १५ हजार युवालाई सीपमूलक तालिम प्रदान गरेर कम्तीमा ५ हजार जनालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यसहित आर्थिक वर्ष २०८०र८१ देखि महानगर गौरबको योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम कामपाले कार्यान्वयनमा ल्याएको छ ।
सीप नजानेकालाई सीप सिकाउने, सीपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सीपयुक्त जनशक्ति उपलब्ध गराउने मेला आयोजनाको लक्ष्य रहेको पनि प्रमुख शाहले जानकारी दिए ।
मेलाको पहिलो संस्करण श्रमिक दिवस २०८१ का दिनदेखि टुँडिखेलमा सुरु भएको थियो । त्यस संस्करणमा तालिमका लागि ६८ हजार ८६६ जनाले आवेदन दिएका थिए। मेलाबाट विभिन्न विधामा दुई हजार ८१ जना युवालाई सीपमूलक तालिम प्रदान गर्ने लक्ष्य राखिएको थियो ।
रोजगार र स्वरोजगारमा आबद्ध नभएका र कामपाको सम्पर्कमा रहेका जनशक्तिलाई उद्योग तथा कम्पनीसँग सहकार्य गरेर कामपाले अन द जब ट्रेनिङ गराइरहेको छ। आन्तरिक रुपमै रोजगारीका थुप्रै सम्भावना छन् भन्ने देखाउनु, सीप नभएर अनौपचारिक क्षेत्रको अर्थतन्त्रमा बसिरहेका जनशक्तिलाई रोजगारी र उद्यमका अवसरबाट औपचारिक अर्थतन्त्रमा रुपान्तरण गराउनु मेलाको लक्ष्य रहेको कामपाको भनाइ रहेको छ ।
‘शिक्षालाई सीपसँग’, ‘सीपलाई श्रमसँग’ ‘श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरुको व्यावसायिकस्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य लक्ष्य हो ।
गएको वर्ष तालिम लिन नपाउनुभएका कामपामा स्थायी वा अस्थायी रुपमा बसोबास गरिरहनु भएका, स्यानिटरी ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति, विगतमा सडक व्यापार, ठेलामा व्यापार गरेका व्यक्तिहरुलाई तालिमका लागि प्राथमिकतामा राखिएको छ ।
यस वर्ष १० वटा विधाका ३० वटा पेसासँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुने बताइएको छ ।
सम्बन्धित समाचार
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


