बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको सेवा विनियमावली संशोधन गर्दै बिदा व्यवस्थासम्बन्धी महत्वपूर्ण नयाँ प्रस्तावहरू अघि सारेको छ। तयार गरिएको मस्यौदामा कर्मचारीले पाउने विभिन्न प्रकारका बिदालाई थप व्यवस्थित, व्यावहारिक र कर्मचारीमैत्री बनाउने व्यवस्था गरिएको छ।
मस्यौदाअनुसार बैंकका कर्मचारीहरूले वार्षिक रूपमा पाउने अनिवार्य बिदा अब सञ्चित (जम्मा) गर्न पाउने छैनन्। कर्मचारी सेवासुविधा समितिको सिफारिसमा पूर्ण तलबभत्तासहित कम्तीमा सात दिन लगातार अनिवार्य बिदा बस्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। हाल यस्तो बिदा सञ्चित गर्न सकिने प्रचलन रहेको थियो।
महिला कर्मचारीका लागि मातृत्व संरक्षण बिदामा पनि नयाँ व्यवस्था प्रस्ताव गरिएको छ। सुत्केरी हुनुअघि वा पछि गरी कुल १४ हप्तासम्म पूरा तलबभत्तासहित बिदा दिने व्यवस्था मस्यौदामा समेटिएको छ। सो अवधिभन्दा बढी बिदा आवश्यक परेमा अन्य उपलब्ध बिदाबाट कट्टा गरिनेछ। अन्य बिदा पनि नभएमा विशेषज्ञ चिकित्सकको सिफारिसमा बढीमा एक वर्षसम्म बेतलबी बिदा दिन सकिने व्यवस्था प्रस्ताव गरिएको छ।
क्रिया बिदाको दायरासमेत विस्तार गरिएको छ। हाल आमा, बुबा, श्रीमान्, श्रीमती तथा छोराछोरीको निधनमा १५ दिन क्रिया बिदा पाउने व्यवस्था रहेकोमा अब सासु–ससुराको निधन भएमा वा कुलधर्मअनुसार श्रीमान् वा श्रीमती किरिया बसेको अवस्थामा पनि सम्बन्धित कर्मचारीले पूरा तलबभत्तासहित क्रिया बिदा पाउने व्यवस्था गर्न प्रस्ताव गरिएको छ।
संशोधित मस्यौदाले विवाह बिदामा रहेका कर्मचारीलाई विशेष राहत दिने व्यवस्था पनि अघि सारेको छ। हाल बैंकले आवश्यकता परेमा विवाह बिदामा रहेका कर्मचारीलाई समेत बीचमै काममा बोलाउन सक्ने व्यवस्था रहेकोमा नयाँ प्रस्तावले यस्तो प्रावधान हटाएको छ।
मस्यौदाअनुसार क्रिया बिदा, मातृत्व तथा प्रसूति स्याहार बिदा, अनिवार्य घर बिदा, बिरामी बिदा र विवाह बिदामा रहेका कर्मचारीलाई बीचमै काममा बोलाउन पाइने छैन। अन्य प्रकारका बिदामा रहेका कर्मचारीलाई भने आवश्यकताअनुसार काममा बोलाउन सकिनेछ।
त्यस्ता कर्मचारीलाई बिदा अवधिभित्रै काममा फर्काइएमा बाँकी बिदा सञ्चित हुने तथा काम गरेको अवधिको सट्टा बिदा वा सो दिनको तलबभत्ता बराबरको रकम उपलब्ध गराउने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
राष्ट्र बैंकले तयार पारेको यो मस्यौदालाई बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको सेवा सुविधा, बिदा अधिकार तथा कार्य–जीवन सन्तुलनलाई थप प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


