Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण, बैज्ञानिकहरु खुसीले यसरी नाचे

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, मंसिर, ११
मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण, बैज्ञानिकहरु खुसीले यसरी नाचे

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यान मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । ‘इन्साइट ल्याण्डर’ नाम दिइएको अन्तरिक्ष यान नेपाली समयअनुसार मंगलबार बिहान करिब पौने २ बजेतिर मंगल ग्रहमा अवतरण गरेको हो ।

मंगल ग्रहको जमिन र आन्तरिक भागको अध्ययन गर्ने लक्ष्यसहित नासाले ‘इन्साइट ल्याण्डर’ नामक अन्तरिक्ष यान पठाएको हो । यो यान अवतरण गर्ने अन्तिम सात मिनेट एकदमै तनावपूर्ण थियो । जब उक्त यान मंगलग्रहको भूमध्य रेखा नजिकको समथर मैदानमा सुरक्षित अवतरण गर्‍यो तब नासाको मिशन कन्ट्रोलमा खुसीको लहर छाएको थियो । बैज्ञानिकहरु खुसीले उफ्रिएका थिए ।

मंगल ग्रहमा अवतरण गर्नुभन्दा सात मिनेट अगाडिको समय निकै महत्वपूर्ण थियो किनभने यानको गति २० हजार किलोमिटर प्रतिघण्टाले कम गर्नुपर्ने थियो ।

अब वैज्ञानिकहरु यो अन्तरिक्ष यान पूर्ण रुपमा ठीक रहेको जानकारीको प्रतिक्षामा छन् । साथै यानले पठाउने त्यहाँ वरपरका तस्वीर र सन्देशको पनि प्रतिक्षा गरिरहेका छन् । इन्साइट ल्याण्डरले यी सबै जानकारी अबका केही घण्टाभित्रै पृथ्वीमा पठाउने सम्भावना रहेको वैज्ञानिकहरु बताउँछन् ।

मंगल ग्रह पृथ्वीसँग मिल्दोजुल्दो छ । त्यहाँ जीवनको सम्भावना छ कि छैन भनेर खोज तथा अनुसन्धान जारी छ । तर, इन्साइट ल्याण्डरले मंगल ग्रहबारे यस्ता जानकारी दिनसक्छ जुन वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन् ।

आफ्नो अभियानको क्रममा यो यानले मंगल ग्रहमा एक साइज्मोमिटर राख्ने छ । त्यसले मंगल ग्रहभित्रको हलचल रेकर्ड गर्न सक्छ ।

मंगल ग्रह मुनि भूकम्पजस्तो हलचल हुन्छ कि हुँदैन भन्ने कुरा त्यसले पत्ता लगाउने छ । मंगल ग्रहलाई खनेर त्यसभित्रको रहस्य पत्ता लगाउन पठाइएको इन्साइट ल्याण्डर पहिलो अन्तरिक्ष यान हो ।

साथै एक जर्मन उपकरणले मंगल ग्रहको पाँच मिटर तल गएर त्यहाँको तापमान पत्ता लगाउने छ । ग्रहको यो तापमानले मंगल ग्रह अझै पनि कति सक्रिय छ भन्ने कुरा पत्ता लाग्ने नासाका वैज्ञानिकहरु बताउँछन् ।

यसमा राखिएको रेडियो ट्रान्समिशनले मंगल ग्रह आफ्नो अक्षमा डगमगाउँदै कसरी घुम्छ भन्ने कुरा पनि पत्ता लगाउने छ ।

Top Changing Nepal

युट्युब सट्स