Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

मेलम्चीको पानी यसै हप्ता वितरण प्रणालीमा, पिउन योग्य आउने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, १०
मेलम्चीको पानी यसै हप्ता वितरण प्रणालीमा, पिउन योग्य आउने

काठमाडौं । मेलम्चीबाट पहिलो चरणमा आउने पानी खान मिल्ने प्रशोधित पानी आउने भएको छ । मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा पठाउन तोकिएकै समय अर्थात् यही चैत्र १५ गते भित्र आउने भएको छ ।

कार्यविधि अनुसार १० दिन सुरुङ भित्र पानी होल्ड गरेर राख्नु पर्ने भएकाले यसै अनुसार पानी राखिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । सुरूङमा पानी थुनेर अनुगमन भइरहेको बताउँदै उहाँले केही दिनमै प्रशोधन केन्द्रमा पानी पठाइने बताउनुभयो ।

चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको विकास समितिले यस अघिनै बताइसकेको थियो । प्रवक्ता पन्तले मेलम्चीको पानी सुन्दरीजलबाट प्रशोधन गरेर पठाउनका लागि गृहकार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।

काठमाडौँ उपत्यकामा पानी वितरणका लागि केही दिनमै सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा दैनिक आठ कराेड लिटर खसालिनेछ । पानी छिटो पठाउनकै लागि निर्माण कम्पनी प्राविधिक टोलीले त्यसै अनुसार काम गरिरहेका छन् ।

चैत दोस्रो साताबाट तीन महिनासम्म परीक्षणका रुपमा काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिने भएको छ । उक्त अवधिमा परीक्षण सफल भएपछि स्थायी रुपमा पानी पठाउने गरी काम भइरहेको प्रवक्ता पन्तले बताउनुभयो ।

मेलम्चीको पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विद्यमान वितरण प्रणालीमा मिसिएसँगै वितरण हुनेछ । परीक्षणका रूपमा रहेको पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को वितरण प्रणालीबाट पानी वितरण गरिनेछ ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमल श्रेष्ठले सुन्दरीजल प्रशोधन केन्द्रबाट आएको पानी वितरणका लागि सम्पूर्ण तयारी यसअघि नै पूरा भइसकेको बताउनुभयो ।

पहिलो चरण अन्तर्गत नरेफाँटसहित काठमाडौँ र ललितपुरका चक्रपथभित्रका एक लाख दश हजार घरधुरीलाई पानी वितरण गर्ने कार्यक्रम आयोजनाको छ ।

दोस्रो चरण अन्तर्गत भक्तपुरसहित काठमाडौँ र ललितपुरको चक्रपथ बाहिरको क्षेत्रमा मेलम्चीको पानी वितरण गर्ने कार्यक्रम रहेको निर्देशक श्रेष्ठले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजलमा मेलम्चीको जलप्रवाहको शुभारम्भ गर्नुभएको थियो । आजको गोरखापत्र दैनिकमा मुकुन्द गैरेले लेखेका छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स