अनुदान नपाउँदा उद्योग बन्द गरेर विदेशिन बाध्य
सुर्खेत । सुर्खेतको पश्चिम चौकुने गाउँपालिका–२ लगामका बुद्धिमान बोहरालाई वैदेशिक रोजगारीमा जाने र मनग्य कमाउने सोच नआएको होइन । विदेशमा भन्दा स्वदेशमै केही न केही उद्यम गर्नुपर्छ भन्ने बलियो सोचले नै उनले स्वदेशमै केही गर्ने अठोटका साथ कागज उद्योग सुरु गरे ।
उनले २०७५ सालमा सुर्खेतकै पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा सिर्जना नेपाली हाते कागज उद्योग सञ्चालनमा ल्याए । दुई रोपनी जग्गा भाडामा लिएर रु सात लाखमा नेपाली कागज उद्योग सञ्चालन गरेका उनले आठ जनालाई रोजगारीसमेत दिएका थिए । उद्योगका लागि चाहिने कच्चा पदार्थ दैलेख र कालीकोटबाट ल्याउनुपथ्र्यो ।
सुरुआती चरणमा उद्योग राम्रै चलेको बुद्धिमान बताउछन् । उनले भने, “सुरुमा रु सात÷आठ लाख ऋण लिएर उद्योग सुरु गरेँ । उद्योगले राम्रै आम्दानी दिइरहेको थियो । सुर्खेत र नेपालगञ्ज नेपाली कागजको बजार राम्रो थियो ।” उद्योगबाट मासिक रु ६० हजारदेखि डेढ लाखसम्म नाफा दिइरहेको बताए । स्थापनासँगै आठ जनालाई रोजगारी दिएको उद्योगले महिनामै रु दुईदेखि तीन लाखसम्म कारोबार गर्दै आएको पनि बुद्धिमानले बताए ।
लोक्ता हाते कागजको कच्चा पदार्थ हो । लोक्तालाई पकाएर कागज उत्पादन गर्ने गरिन्छ । लेकाली जङ्गलमा पाइने बरुवा नामक बिरुवाको बोक्रालाई लोक्ता भनिन्छ । यसैबाट नेपाली कागज तयार हुन्छ । पछिल्लो समय सामुदायिक उपभोक्ता समितिले सामुदायिक वन क्षेत्रमा लोक्ता सङ्कलनमा रोक लगाइदिएपछि उनको उद्योग फस्टाउन सकेन । कच्चा पदार्थ अभाव हुन थालेपछि महँगोमा किन्नुपर्ने अवस्था आएको र उद्योगको नाफा विस्तारै घट्दै जान थालेको पनि उनले बताए ।
कच्चा पदार्थ अभाव हुन थालेपछि नेपाली कागज उत्पादनमा समस्या पर्दै जान थालेको बुद्धिमानको भनाइ छ । उनले भने, “सुरुआतको दुई वर्षसम्म उद्योगले कच्चा पदार्थ राम्रै पाइरहेको थियो । विस्तारै वन समितिले लोक्ता सङ्कलन गर्न नदिएपछि कच्चा पदार्थ अभाव हुन थाल्यो । कच्चा पदार्थ महँगियो । कच्चा पदार्थ अभावसँगै उत्पादन पनि घट्न थाल्यो । यता कागजको मूल्य भने अहिले पनि बढेको छैन । यसले उद्योग दिन प्रतिदिन घाटातर्फ गइरह्यो ।”
एकातिर कच्चा पदार्थको अभाव छँदै थियो, अर्कोतिर कोरोना सङ्क्रमणले सबैतिर अस्तव्यस्त बनाइदियो । कोरोनाकै कारण उद्योग सञ्चालनमा समस्या पर्न थालेपछि ऋणको जोहोमा चारैतिर भौतारिँदा पनि कहीँकतैबाट ऋण नपाउँदा उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको बुद्धिमानको गुनासो छ । “सञ्चालनको सुरुआतमा त ठीकै थियो, कोरोनापछि उद्योग निरन्तर घाटामा जान थाल्यो”, बुद्धिमानले भन्नुभयो, “कोरोनाको दोस्रो लहर सुरु भएपछि कच्चा पदार्थको अभाव, आर्थिक स्रोत र बजारीकरणले उद्योग नै बन्द गर्नुपर्ने अवस्था आयो ।” उद्योगबाट राम्रै आम्दानी गर्न सकिने सम्भावना रहे पनि लगानीको अभावमा उद्योग बन्द गर्नुपरेको उनी बताउछन् ।
उनले उत्पादित कागज बिक्री गर्न टाढा लिनुपर्ने झन्झटिलो प्रक्रिया, लगानीअनुसारको प्रतिफल नआउनु, पर्याप्त मात्रामा औजार नहुनु, समयमा कच्चा पदार्थ नपाइनु, ढुवानीको समस्यालगायतका कारणले उद्योग सञ्चालमा समस्या आएको बताए । उनका अनुसार जाजरकोट, दैलेख, कालीकोटका जङ्गलमा पाइने लोक्ताको पनि अभाव भयो । उनको उद्योगबाट नोटबुक, डायरी, फोटोकपी पेपर, ए फोर साइज पेपर, गिफ्ट बक्स, गमलालगायत नेपाली हाते कागजका आकर्षक सामग्री उत्पादन हुने गर्दथ्यो । हाल कागज बनाउनका लागि महँगो र कोरोनाका कारण बजारको व्यवस्था नभएपछि उद्योग बन्द गरेको बताउँदै उनले भने, “न चाहिएको बेला कच्चा पदार्थ आउँछ, न कतैबाट अनुदान पाइयो, उद्योग सञ्चालन गर्न मुस्किल परेपछि बन्द गर्न बाध्य भएँ ।” स्थानीय, प्रदेश तथा केन्द्र सरकारले वितरण गर्ने अनुदानसमेत टाठाबाठाले पाउने गरेको उनको गुनासो छ ।
स्थानीय तथा प्रदेश तहमा बारम्बर धाइरहँदा पनि उद्योगलाई कुनै सहयोग नभएको उनको गुनासो छ । स्वरोजगारमूलक तथा परम्परागत लघु घरेलु तथा साना उद्यमलाई सरकारले प्रोत्साहन गर्न नसकेको उनको गुनासो छ । अनुदान र ऋणका लागि सम्बन्धित निकायमा जाँदा पनि कमिसनमा मोलमोलाई हुने गरेको उनको तीतो अनुभव छ । अनुदान माग्दा हाकाहाकी यति र उति प्रतिशत भन्दै कमिसन माग्ने भेटिएको उनको अनुभव छ ।
कोरोना महामारीका कारण उद्योगमा परेको प्रभावले अहिले बुद्धिमान विदेशिने तयारीमा छन् । कोरोनाका कारण दोस्रो पटकको बन्दाबन्दीका कारण उद्योग पूर्णरुपमा बन्द गर्नुपरेको उनले बताए । “कतैबाट ऋण तथा अनुदान नपाएपछि अहिले विदेश जाने तयारी गरेको हुँ ।” उद्योगको ऋण र परिवार पाल्नकै लागि विदेशिन बाध्य भएको सुनाउँदै गर्दा उनले कागज उद्योग बन्द गरेर रोजगारी दिएका सबैलाई बिदाइसमेत गरिसकेका छन् । कच्चा पदार्थको भाउ बढ्दा पनि कागजको भने मूल्य नबढ्नुले उद्योग सञ्चालनमा कठिनाइ भएको उनको अनुभव छ । चार वर्ष पहिला र अहिलेको कागजको मूल्य एउटै भए पनि कच्चा पदार्थको मूल्य आकाशिएको उनको भनाइ छ ।
नेपाली कागज उत्पादनका लागि सरकारले दिने अनुदानसमेत वास्तविक उद्यमीले पाउन नसक्दा आफूजस्ता उद्यमी विदेश पलायन हुनुपर्ने अवस्था आएको उनको गुनासो छ । साना तथा घरेलु उद्योग महासङ्घका अनुसार कर्णालीमा करिब १७ हजार साना तथा घरेलु उद्योग छन् । तीमध्ये मुस्किलले १० प्रतिशत उद्योग मात्र नियमित सञ्चालनमा छन् ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

