प्रदेशअनुसार घोषणापत्र बनाउँदै कांग्रेस
काठमाडौँ । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशअनुसार नै फरक फरक घोषणापत्र बनाउने तयारी गरेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको ४१ सदस्यीय घोषणापत्र तयारी समितिले सातवटै प्रदेशका लागि फरक फरक घोषणापत्र बनाउने गरी तयारी अघि बढाएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसका लागि ६ जना सहमहामन्त्रीलाई प्रदेशगत रूपमा राय लिने गरी घोषणापत्र बनाउने समितिमा मनोनित गरिसकेका छन् ।
जसअनुसार सहमहामन्त्री फरमूल्लाह मन्सुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, बद्रीप्रसाद पाण्डे र जीवन परियारले जिम्मेवारी पाएका छन् । यसैगरी केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले पनि एउटा प्रदेशका लागि प्रदेशगत समन्वय गर्ने जिम्मा पाएका छन् ।
घोषणापत्र तयारी समितिका सदस्य रहेका कांग्रेस नेता शंकर तिवारीले प्रदेशगत रूपमा समन्वय गरेर राय संकलन गर्ने काम सहमहामन्त्रीले गर्ने जानकारी दिए । कांग्रेस सभापति देउवाले प्रदेश १ मा उपाध्याय, मधेस प्रदेशमा आङ्देम्बे, बाग्मती प्रदेशमा यादव, गण्डकी प्रदेशमा पाण्डे, लुम्बिनी प्रदेशमा मन्सुर, कर्णाली प्रदेशमा परियार र सुदूरपश्चिम प्रदेशमा विश्वकर्मालाई प्रदेशगत रूपमा राय लिन जिम्मेवारी दिएका हुन् ।
कांग्रेसको गत वर्ष मंसिरमा सम्पन्न १४औं महाधिवेशनपछि सहमहामन्त्री जिम्मेवारीविहीन रहँदै आएका थिए । कांग्रेस विधानमा नै सहमहामन्त्रीको काम कर्तव्य र अधिकार नतोकिएका बेला पछिल्लो समय देउवाले सहमहामन्त्रीलाई काम दिएका हुन् । सहमहामन्त्री उमाकान्त चौधरी भने सरकारमा मन्त्री भएका कारण उनको स्थानमा विश्वकर्मालाई जिम्मेवारी दिएको हो ।
सभापति देउवाले प्रदेश र प्रतिनिधिसभाको समानुपातिकमा सिफारिस उम्मेदवारको क्लस्टरअनुसारको सूची बनाउने कामको जिम्मा पनि केही दिनअघि सहमहामन्त्रीलाई नै दिएका थिए । घोषणापत्र तयारी समितिमा ६ जना सहमहामन्त्री, सात जना केन्द्रीय सदस्य, विभिन्न क्षेत्र र वर्गका विज्ञ छन् । समितिमा अर्थ, समाजशास्त्र, खेलकुद, साहित्य, मनोरञ्जन, महिला तथा बालबालिकालगायतका विभिन्न क्षेत्रका विज्ञ सदस्य तोकिएका छन् ।
समितिमा सहमहामन्त्री परियार संयोजकत्वको अध्ययन र विश्लेषण उपसमितिले पार्टीको स्थापनाकालदेखिका दस्तावेज एवं विभिन्न कालखण्डका घोषणापत्र अध्ययन गरिरहेको छ । यस्तै अर्थविद् डा। स्वर्णिम वाग्ले संयोजकत्वको उपसमितिले घोषणापत्रको प्रारम्भिक मस्यौदा तयार पारिरहेको छ । आजको राजधानी दैनिकमा खबर छ ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

