सयपत्री फूलको माग बढ्यो
काठमाडौँ । तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेको छ । व्यावसायिक उत्पादन अति न्यून र यसपटक स्थानीयस्तरमा फूल कम फुलेकाले सयपत्रीको माग धेरै बढेको व्यावसायी बताउँछन् ।
रामपुर नगरपालिका–४ देवीस्थानका युवा व्यवसायी दिलबहादुर थापालाई यतिबेला फूलमाला बिक्री गर्ने चटारो छ । तीन वर्षदेखि यस व्यवसाय थालनी गरेका थापाले अहिले तिहारलक्षित करिब साढे तीन रोपनी जग्गामा सयपत्री फूलखेती गरेका छन् ।
“तिहारको चहलपहल सुरु हुन थालेपछि फूल खरिद गर्ने ग्राहकको घुइँचो बढेको छ, स्थानीयस्तरमै माग धेरै आएकाले बाहिर पठाएको छैन, फूल टिप्ने, माला तयार पारेर बिक्री गर्न भ्याइनभ्याई छ”, उनले भने । नेपालगञ्ज, बुटवल, तानसेन, पोखरालगायत विभिन्न ठाउँबाट माग धेरै आए पनि स्थानीयलाई पहिलो प्राथमिकता दिने उनले बताए । यसपटक तिहारमा मात्रै करिब रु दुई लाख ५० हजार बराबरको फूल बिक्री गर्ने उनको अनुमान छ ।
प्रतिमाला रु एक सय, प्रतिकिलो फूल रु पाँच सयमा धमाधम घरबाटै बिक्री भइरहेको छ । पछिल्लो समय विभिन्न सङ्घसंस्था, विद्यालयमा दीपावलीको शुभकामना आदान–प्रदानजस्ता कार्यक्रम गर्ने लहरले तिहार सुरु हुनुअघिदेखि नै फूलमाला खरिद गर्ने ग्राहक बढेका छन् ।
गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा मात्रै करिब रु एक लाख ५० हजार बराबरको फूल बिक्री गर्नुभयो भने सङ्घ र प्रदेश तहको निर्वाचनको उम्मेदवारी दर्ता, प्रचार–प्रसार तथा स्थानीयस्तरमा हुने विभिन्न कार्यक्रममा गरी दसैँयता मात्रै करिब रु ५० हजार बराबरको फूलमाला बिक्री गरेको उनी बताउछन् ।
“फूलखेती सुरु गरेपछि मेरो पहिचान नै फेरिएको छ, पहिला घरपरिवार, आफन्तबाहेक कसैले चिन्दैनथे”, उनले भने, “करिब एक दशक विदेश बसेर गाउँ फर्केरलगत्तै फूलखेती गरेपछि सबैले राम्रोसँग चिन्छन्, समाजमा नाम र दाम दुवै पाएपछि धेरै सन्तुष्टि छु ।”
फूलको उत्पादन र बिक्री उत्साहजनक रहेकाले व्यावसायमा थप हौसला मिलेको छ । दिलबहादुरलाई यस व्यवसायमा श्रीमती सुकमाया थापाले सघाउँदै आएका छन् । घर अगाडिको खेतभरि पहेँलै फुलेका फूलको दृश्यले घरको वातावरणमा सौन्दर्यता थपेको बताउछन्, सुकमाया थापा ।
गाउँघरमा पछिल्लो समय सयपत्री फूल कमै पाइन्छ । स्थानीय जातका फूल मासिने क्रम बढेको छ । हाइब्रिड जातको फूल आउन थालेपछि घरका आँगन, डिल, करेसाबारीमा फुल्ने फूल हिजोआज खासै देखिँदैन । सयपत्री खेतीका अलवा लोपोन्मुख मखमली फूलको खेती गर्ने दिलबहादुरले योजना बनाएका छन् । यसै वर्ष मखमली लगाउने सोच बनाए पनि बीउ समयमा उपलब्ध नहुँदा सयपत्रीमात्रै लगाएका छन् ।
यहाँ ढकमक्क फुलेका फूलले सबैको मन लोभ्याएको छ । टिकटक बनाउने, फोटो खिच्ने, भिडियो बनाएर सामाजिक सञ्जालमा राख्न बालबालिकादेखि युवायुवती, वयस्क उमेरसम्मका पुग्ने गर्दछन् । गत भदौमा धुलिखेमा दुई दिन र तीन वर्षअघि बुटवलमा एकहप्ते पुष्प व्यवसायसम्बन्धी तालिम लिएका छन् । सो तालिमले व्यवसायमा धेरै सहज भएको उनले बताए ।
फूल उत्पादन, गुणस्तर निकाल्ने तरिका, बजारीकरण, नयाँ प्रजातिका उत्पादनलगायतका सम्बन्धमा ज्ञान, सीप पाएपछि नयाँ ढङ्गबाट खेती गरेका छन् । करिब पन्ध्र मुरी धानबाली फल्ने जग्गामा फूल लगाउन थालेपछि तेब्बर बढी आयस्रोत भित्रिएको छ । फूलखेतीबाट आफू मात्र नभई पाल्पा जिल्लालाई नै चिनाउने उनको सपना छ । एक वर्षमा तीन पटकसम्म यसको खेती गर्न सकिन्छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


