रोकिएन महिला हिंसाका घटनाक्रम
काठमाडौं । महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा लैङ्गिक हिंसाका घटना थपिने क्रम जारी छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आह्वानमा मङ्सिर २४ गतेसम्म अभियान सञ्चालन भइरहेको छ र यस अवधिमा तीन जना महिलाले अकालमा ज्यान गुमाएका छन्।
आइतबार काठमाडौँको धुम्बाराहीमा नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपाने जलेर गम्भीर घाइते हुनुभयो। उहाँको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा मङ्गलबार मृत्यु भयो । मृतक पुष्पाको गत भदौ १८ गते युवक सुधन सङ्ग्रौलासँग जनैसुपारी सम्पन्न भएको थियो। विवाह गर्ने सहमतिपछि गरिएको जनैसुपारी वर पक्षले एकतर्फी रूपमा तोडेको बताएपछि भएको पुष्पाको मृत्यु रहस्यमय बनेको छ।
शनिबार वर पक्षले पुष्पाको घरमा पुगेर जनैसुपारी र दक्षिणा फिर्ता गर्दै मगनी तोडिएको घोषणा गरी वधू पक्षबाट उपहारस्वरूप पाएका सामान फिर्ता लिन आउन भनेको थियो। वर पक्षको घरमा पुगेकी पुष्पाको जलेर भएको मृत्युबारे जिल्ला प्रहरी परिसर काठमाडौँले युवक सुधनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।
यस्तै सुर्खेतको पञ्चपुरी नगरपालिका–३, तोक्माका ३८ वर्षीय अम्मर आलेमगरले मङ्गलबार दिउँसो धारिलो हतियार प्रयोग गरी ३० वर्षीया पत्नी मीना आलेको घाँटी रेटेर हत्या गरेका छन्। आरोपित आलेमगरलाई इलाका प्रहरी कार्यालय बाबियाचौरले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।
त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित एकल महिला उषा राईको हत्या भएको छ। एक समूहले कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले चार जना महिलालाई पक्राउ गरी सार्वजनिकसमेत गरिसकेको छ।
कुटपिटबाट गम्भीर घाइते उषाको मङ्सिर १३ गते उपचारकै क्रममा मृत्यु भएको थियो। मृतकका भाइ सुन्दर राईको किटानी जाहेरीपछि धरानस्थित इलाका प्रहरी कार्यालयले ती महिलालाई पक्राउ गरेको र थप आरोपितको खोजी भइरहेको जनाएको छ। पक्राउ पर्नेमा मुख्य आरोपित धरान–१३, सूर्यमार्ग बस्ने ५५ वर्षीया उर्मिला राई रहेकी छिन्।
उर्मिलाले आफ्ना पति गोविन्द राईसँग उषा नजिकिएको भन्दै महिलाको समूह बटुलेर गत कात्तिक ३ गते कुटपिट गरेको आरोप लागेको छ। उनलाई मङ्सिर १५ गते पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । कुटपिटपछि घाइते भएकी उषाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो।
प्रहरीले सोही वडा बस्ने २६ वर्षीया सुमित्रा राई, धरान–१७ बस्ने २९ वर्षीया सुसेली राई र ४० वर्षीया रत्न लिम्बूलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। उषाका पतिको मृत्युपछि सिलाइबुनाइ तथा बाख्रापालन गरी दुई छोरीसहित जीविकोपार्जन गर्दै आएकी थिइन् ।
प्रहरीले उक्त घटना भएको बेला खिचिएको भिडियोमा देखिएका महिलाको पनि खोजी र अनुसन्धान भइरहेको जनाएको छ। उक्त घटनामा सिर्जना राई, मीना राई र नीरकुमारी गुरुङको पनि संलग्नता रहेको भन्दै जाहेरी परेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। गोरखापत्र दैनिकबाट
सम्बन्धित समाचार
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

