भूमिहीन भन्छन् : निस्सा पायौं, लालपुर्जा कहिले पाउँछौं ?
दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले भूमिहीन सुकुम्वासी परिवारलाई निस्सा वितरण सम्पन्न गरेको छ। हरेक नेपालीलाई भूमिको अधिकार दिलाउने गरी अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्वासी र भूमिहीन दलितको लगत संकलन गरी गाउँपालिकाले निस्सा वितरण गरेको हो।
अव्यवस्थितरुपमा बसोबास गर्दै आएका सुकुम्वासी परिवारहरू निस्सा पाएपछि लालपुर्जा पाउने आशमा खुसी देखिएका छन्। म्याग्दे गाउँपालिका४ निवासी कल्पना नेपालीले भूमिहीन दलितको निस्सा पाएपछि अब जग्गा पाउने आश पलाएको बताइन्। ‘भूमिको नाममा कहीँ कतै केही नभएको निस्सा पाउँदा अब जग्गा नै पाउँछु भन्ने विश्वास लागेको छ,’ उनले भनिन्, ‘निस्सा नभई रातो लालपुर्जा नै पाएजस्तो महसुस गरेको छु, अब सरकारले जग्गा दिनेमा विश्वस्त छु।’
सोही ठाउँ निवासी जुना थापा पनि निस्सा पाएपछि खुसी छन्। ‘आफ्नो नाममा अहिलेसम्म जग्गा छैन, निस्सा वितरण गरेपछि जग्गा नाप जाँच कार्य सुरु हुन्छ,’ उनले भनिन्, ‘अब मेरो नाममा पनि जग्गा हुन्छ की त भन्ने आश जागेको छ।’
भूमिहीनलाई जग्गा दिलाउन पहिलो चरणको प्रक्रिया सुरु भएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए। निस्सा वितरणको आधारमा नै जग्गाको नाप जाँचको कामलगायतका प्रक्रिया अगाडि बढाइने श्रेष्ठको भनाइ छ।
वर्षौंदेखि उपभोग गर्दै आएको जमिन आफ्नो नाममा नहुँदा निराश बनेका सुकुम्वासीलाई निस्सा भूमि प्राप्तिको आधार बनेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए। निस्सा वितरण सुरुआत पहिला नै गर्न लागिएको भए तापनि निर्वाचनका कारण रोकिएको हुँदा ढिलो भएको घिमिरेले बताए।
म्याग्दे गाउँपालिकामा अव्यवस्थित बसोबासी एक हजार एक सय ५३, भूमिहीन सुकुम्वासी ६५, भूमिहीन दलित ८५ जनाले निस्सा प्राप्तिका लागि फारम भरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए। फारम भरेका सबैलाई निस्सा वितरण सकिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए।
जग्गा नाप जाँच अगाडि बढाउँदै पालिका
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका कारण रोकिएको जग्गा नाप जाँचको काम तनहुँमा पुनः सुरु भएको छ। निर्वाचन आचारसंहिताका कारण रोकिएको जग्गा नाप जाँचको काम पुनः सुरु भएको हो।
तनहुँको आँबुखैरेनी गाउँपालिका(२ स्थित लिउतपाखा गाउँबाट जग्गाको नाप जाँचको काम सुरु भएको कार्यवाहक वडाध्यक्ष कमलबहादुर मगरले जानकारी दिए। ‘जग्गा उपलब्धताका लागि निवेदन पेश गर्नुभएका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको जग्गा नाप जाँच कार्य सुरु भएको छ,’ मगरले भने।
जग्गा नाप जाँचका लागि नापी कार्यालय तनहुँका सर्वेक्षक राजीव श्रेष्ठको नेतृत्वमा टोली परिचालन भएको छ। आँबुखैरेनी गाउँपालिका(३ कै मिलनटोलमा पनि जग्गा नाप जाँचको कार्य सुरु भएको छ। भोगचलन गर्दै आएको ऐलेनी जग्गा उपलब्धताका लागि निवेदन पेश परेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको जग्गा नाप जाँच कार्य सुरु भएको वडाध्यक्ष दिनेश केसीले जानकारी दिए।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले लामो समयदेखि भूमिहीन र अव्यवस्थित बसोबासीका रुपमा रहेका सर्वसाधारणलाई लालपुर्जा प्रदान गर्नका लागि समयमै नाप जाँच कार्य सम्पन्न गराउनुपर्ने बताए। राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले स्थानीय तहको समन्वयमा भूमिहीनलाई लालपुर्जा र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाउने प्रक्रिया सुरु गरिएको जानकारी दिए।
गाउँपालिकाले जग्गा नाप जाँच कार्यका लागि यसअघि नै निस्सा वितरण गरिसकेको छ। राष्ट्रिय भूमि आयोगका अनुसार हालसम्म शुक्लागण्डकी नगरपालिका(७, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका(१ र २, देवघाट गाउँपालिका(५ र व्यास नगरपालिका(१, २, ११, १३ मा भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको निवेदनको निस्सा वितरण गरिएको छ।
जिल्लाका दश पालिकामा भूमिहीन दलित एक हजार एक सय आठ, भूमिहीन सुकुम्वासी एक हजार आठ सय ७२ र अव्यवस्थित बसोबासी २३ हजार एक सय ३७ गरी २६ हजार एक सय १७ जनाको निवेदन दर्ता भएको छ। जिल्लाको देवघाट गाउँपालिका(५ देउपुर टोल र शुक्लागण्डकी नगरपालिका(७ स्याउली बजारमा पनि जग्गाको नाप जाँच कार्य जारी छ।
सम्बन्धित समाचार
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


