विपद् जोखिममा रहेका पालिकामा साइरन जडान गरिँदै
टीकापुर । कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा प्रकोपको जोखिम रहेका स्थानमा सूचना प्रवाहका लागि साइरन जडान गर्न थालिएको छ । यी पालिकामा सबैखाले विपद् तथा प्रकोपका समयमा सहज सूचना प्रदान गर्नका लागि बहु–विपद पूर्व सचेतना उपकरण साइरन जडान गर्न थालिएको हो ।
जानकी गाउँपालिकाका तीन स्थानमा साइरन जडान गरिएको छ भने टीकापुरमा तीन स्थानमा जडान गर्ने तयारी छ । जानकी–४, ६ र ९ मा साइरन प्रणाली जडान भएको पालिकाले जानकारी दिएको छ । विपत तथा प्रकोपका बेला आइपर्ने सम्भावित जोखिमबाट बच्न तथा क्षति न्यूनीकरण गर्नका लागि स्थानीयवासीलाई सहज र छिटो सूचना दिन साइरन प्रणाली जडान गरिएको गाउँपालिकाका विपद् फोकल पर्सन नेत्रप्रसाद जैशीले बताए ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको रु १० लाख सहयोगमा वडा नं ४ को वडा कार्यालय मुनुवा, वडा नं ६ को बालज्योति आधारभूत विद्यालय जगतपुर र वडा नं ९ को वडा कार्यालय खैरीफाँटामा साइरन जडान गरिएको छ । उनले भने, ‘‘विपतका बेला प्रयोगमा आउने गरी अहिले साइरन जडान भएको छ ।’’
साइरन प्रणालीमार्फत विपद् जोखिम क्षेत्रमा रिमोट कन्ट्रोल, एसएमएस, अनलाइन र साइरनको आवाजमा सूचना सम्प्रेषण हुनेछ । यो प्रणालीमार्फत विपद्का बेला स्थानीय पालिका, जिल्ला, प्रदेश वा केन्द्रबाट सूचना प्रवाह गर्न सकिनेछ । सूचना प्रवाहका लागि पाँच सय मिटर पेरिफेरीमा रिमोटमार्फत वडा कार्यालय, एसएमएस र अनलाइन जानकारीका लागि गाउँपालिका विपद् शाखा र साइरनका लागि सम्बन्धी ठाउँका सम्बन्धित व्यक्तिमार्फत हुने जैशीले बताए ।
यसरी विपतका बेला साइरनबाट प्रवाह हुने, जानकारी दुई किलोमिटरको दुरीसम्म सुन्न सकिने र सोहीनुसार पूर्वतयारी, सजग तथा सचेत रहनमा सहयोग पुग्नेछ । विगतमा विपद आउँदा समुदायका सरोकारवाला व्यक्ति तथा बड्घर, जनप्रतिनिधि कहाँ एसएमसमार्फत जानकारी दिने गरिएको थियो । यी दुबै पालिकामा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रमार्फत २४सैँ घण्टा विपद्सम्बन्धी सूचना प्रवाह भइरहेका छन् ।
‘‘अब साइरनमार्फत सबैलाई एकैपटक सूचना प्रवाह गर्न सकिन्छ’’, जानकी–६ का वडाध्यक्ष इन्द्र चौधरीले भने, ‘‘सबैले बुझ्न सकिने गरी स्थानीय भाषामा सूचना सम्प्रेषण हुने भएकाले यो धेरै उपयोगी हुनेछ ।’’
टीकापुरकासमेत तीन स्थानमा साइरन जडान हुँदैछ । टीकापुरका विजयनगर सहरी स्वास्थ्य केन्द्र, भानु पुस्तकालय सत्ती र वडा नं ६ को वडा कार्यालयमा साइरन जडान गर्ने निर्णय भएको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिए ।
‘‘टीकापुर–८ स्थित सत्ती पुलको पोलमा गेज स्केल निर्माण गर्ने भएका छौँ’’, उनले भने, ‘‘टीकापुरले कर्णाली नदी तल्लो तटीय क्षेत्रमा पानीको सतहमापन गर्नका लागि गेज स्केल निर्माण गर्दैछ ।’’
यसका साथै टीकापुरमा सञ्चालित एम्बुलेन्सलाई व्यवस्थित गर्न जिपिएस जडान गर्ने प्रदेशको निर्णय कार्यान्वयन गराउन पालिकाले पहल गर्ने भएको छ । नगर प्रमुख रामलाल डगौरा थारुले नगरपालिकाको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्न थालेको बताए । योजना अद्यावधिक गर्न वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक बलिराम चौधरीको संयोजकत्वमा नौ सदस्यीय समिति गठन भएको छ ।
नगर प्रमुख थारुले भने, ‘‘वडास्तरीय विपद् व्यवस्थापन समिति र समुदायलाई विपद् जोखिम व्यवस्थापनमा मौसम पूर्वनुमानमा आधारित पूर्वकार्य, पूर्व सूचना संयन्त्र तथा विपद् उत्तरदायी सामाजिक सुरक्षासम्बन्धी अभिमुखिकरणसमेत गर्ने तयारी भएको छ ।’’
कैलालीका यी पालिका हरेक वर्ष आउने विपद्को जोखिमबाट जोगिन पूर्व तयारीमा जुटेका छन् । बाढीको जोखिम बढी झेल्दै आएका पालिकामा बाढीको समयमा आवश्यक पर्ने सामान, समुदायलाई सचेत गराउन विभिन्न तालिम, विपद्मा खट्ने जनशक्ति तयार जस्ता कार्य भइरहेका छन् । रासस
सम्बन्धित समाचार
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

