एकताको पखाईमा थापा, लिङ्देन मौन
काठमाडौं । महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग हार व्यहोरेर पार्टी परित्याग गरेका कमल थापाले फेरि राष्ट्रिय प्रजातन्त्र पार्टीमा इन्ट्रीको तयारी गरेका छन् । महाधिवेशनमा पराजय व्यहोरेसँगै राजा र राजसंस्थालाई गाली गर्दै पार्टीबाट बाहिरिएका थापा २ वर्ष नबित्दै फेरि सोही एजेण्डामा फर्किसकेका छन् ।
राप्रपाबाट बाहिरिएका थापाले राप्रपा नेपाल गठन गरे । राप्रपा परित्यागपछि थापाले गणतन्त्र स्वीकार गर्दै अगाडि बढ्ने कोशिस गरे । राप्रपा नेपाल गठनसँगै गत निर्वाचनमा उनले नेकपा (एमाले) सँग सहकार्य गरे ।
एमालेको साथ पाएका थापाले गत प्रतिनिधि सभा निर्वाचनमा पनि पराजय व्यहोरे । हार पनि यस्तो भइदियो, आफैंले राजनीतिमा ल्याएको र राजनीतिक मार्ग देखाएर अगाडि बढाएका व्यक्तिसँग हार्न पर्यो । अर्थात् चेलासँग गुरु हार्न पर्यो । थापालाई राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले हराए ।
गत भदौ दोस्रो साता काठमाडौंमा बसेको राप्रपा नेपालको केन्द्रीय समिति बैठकमा थापाले ‘अबको गन्तव्य समृद्ध हिन्दू अधिराज्य’ नामक दस्ताबेज सार्वजनिक गरे ।
महाधिवेशनमा हार व्यहोरेसँगै उनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा राजाले हस्तक्षेप गरेको आरोप लगाए । उनले आफ्नो हारसँगै सामाजिक सञ्जालमा लेखे, ‘‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपको भ्रर्तसना गर्दछु । सिंगो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’
राजालाई गाली गरेर पार्टी र राजसंस्थाकै एजेण्टाबाट बाहिरिएका थापाले एकाएक केन्द्रीय समिति बैठकमा रहस्यमयी तरिकाले राजसंस्था र हिन्दुराज्यको एजेण्डा लिएर उदाए । उनले सार्वजनिक गरेको राजनीतिक प्रतिवेदन लिङ्देन नेतृत्वको राप्रपाकै बटमलाईनमा थियो ।
‘संवैधानिक राजसंस्था सहितको प्रजातन्त्रसमेत राप्रपा नेपालको मूलभूत विचार हुनेछ । राजसंस्थाको पुनर्स्थपाना राप्रपा नेपालको मुख्य कार्यनीतिक एजेण्डामध्ये एक हुनेछ,’– उनले सार्वजनिक गरेको राजनीतिक दस्तावेजमा भनिएको छ ।
केन्द्री समिति बैठकपछिका सार्वजनिक कार्यक्रमहरुमा राजेन्द्र लिङ्देनसँग सहकार्य र एकता सम्भव रहेको र केही एजेण्डामा लिङ्देन तयार भएको खण्डमा भोलि पार्टी एकता हुनसक्ने बताउँदै आएका छन् ।
उनले राप्रपाका अध्यक्ष लिङ्देन, नेता धवल शमशेर र अरु कसैसँग पनि आफ्नो व्यक्तिगत वैमनष्यता र दुस्मनी नरहेको बताउन थालेका छन् । साथै, राप्रपा आफूले रगत र पसिना बगाएर खडा गरेको बताउन थालेका छन् ।
थापाले अब आफूलाई पार्टीको नेतृत्व गर्ने चाहना पनि नरहेको बताउँदै आएका छन् । लिङ्देनसँगको एकताको एउटै बटमलाईन उनले अहिलेको राज्यसत्ताविरुद्धको संघर्ष भएको बताउँद आएका छन् ।
गत भदौ १० गते प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै थापाले लिङ्देन नेतृत्वको राप्रपा राजासहितको प्रजातन्त्र, हिन्दु राष्ट्र पुनर्स्थापना र संघीयताको खारेजीको निमित्त संघर्ष र आन्दोलन गर्न तयार भएको खण्डमा भोलिनै पार्टी एकता हुनसक्ने बताएका थिए ।
‘देश र जनतालाई नै केन्द्रविन्दुमा राखेको छु, देशको अवस्थालाई हेरेर हामीहरुको बीचमा एकता हुनसक्छ । त्यसको निमित्त एउटैमात्र शर्त मलाई नेतृत्व पनि चाहिएको छैन, त्यो शर्त भनेको के हो भनेदेखि संघर्ष र आन्दोलन । बटमलाईन नै त्यही हो । राजासहितको प्रजातन्त्र, हिन्दु राष्ट्रको पुनर्स्थापना र संघीयताको खारेजीको निमित्त संघर्ष र आन्दोलनमा आउनका निमित्त उहाँहरु तयार हुनुहुन्छ भने भोलि नै पार्टी एकता हुनसक्छ,’– उनले भनेका थिए ।
महाधिवेशनलाई लिएर आफूसँग कुनै कुण्ठा, चिन्ता र चित्त दुखाई बाँकी नरहेको उनले बताए । कुण्ठा, चित्त दुखाई र व्यक्तिगत स्वार्थ त्यागेर देश र जनताको हितमा पार्टी एकता गर्न आफू तयार रहेको उनले सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।
व्यक्तिगत स्वार्थ र अहंकारका कारण जसरी कम्युनिष्टहरु टुटफुट, विभाजन र एकताको श्रृङ्खलामा अगाडि बढिरहेका छन् । राजसंस्था र हिन्दु अधिराज्यको एजेण्डा लिएर हिँडेका राजावादी नेताहरु पनि टुटफुट, विभाजन र एकताको श्रृङ्खलामा जुज्रिरहेका छन् ।
एजेण्डा र गन्तव्य एउटै रहेको तत्कालीन राप्रपा र राप्रपा संयुक्तबीच २०७६ सालमा एकता भयो । पार्टीका तीन प्रभावशाली नेताहरु लोकेन्द्र बहादुर चन्द, पशुपति शमशेर र कमल थापाले पार्टी एकताको क्रममा भगवान पशुपतिनाथलाई साक्षी राखी गीता छोएर कहिल्यै पार्टी नफुटाउने कसम खाए ।
उक्त कसम पनि दुई वर्षभन्दा लामो समय टिक्न सकेन । थापाले हिन्दुहरुको आस्थाको केन्द्र पशुपति नाथ र गीताको कसम उल्लङ्घन गर्दै खाएको कसम दुई वर्षमै तोडे । आफ्नो स्वार्थका लागि कसम तोड्न र एजेण्डा छोड्न पछि नपर्ने थापाले पार्टी एकताको कुरा उठाइरहँदा लिङ्देन भने मौन छन् ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


