Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

अफगानिस्तानमा १५ नेपाली बन्दी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, चैत्र, २४
अफगानिस्तानमा १५ नेपाली बन्दी

मानव तस्करको चंगुलमा परेर दिल्ली ट्रान्जिट हुँदै अफगानिस्तान लगिएका २१ नेपालीमध्ये ६ जना आफ्नै बलबुतामा दलालको पञ्जाबाट उम्किएर दिल्ली आइपुगेका छन् ।

एक महिने भिसा सकिन १२ घण्टा मात्रै बाँकी रहेपछि आफूहरुलाई लुकाएर राखिएको बन्दीगृहजस्तो कोठाबाट गत बिहीबार राति १२ बजे भागेर काबुल विमानस्थल पुगेको र त्यहाँबाट आफन्तले खर्च हालेर पठाएको टिकटबाट सिधैं दिल्ली आइपुगेको पीडित कामदारले बताए । सोमबार बाराखम्बा रोडस्थित नेपाली दूतावासमा आफूलाई अफगानिस्तान पठाउने एजेन्टका बारेमा उजुरी दिन आएका कामदारले काबुल बिमानस्थल नजिकैको बन्दकोठामा अरु १५ नेपाली गैरकानूनी अवस्थामा उद्धार पर्खेर बसिरहेको बताएका छन् ।

दुतावासमा काउन्सिलर यादव खनालले गैर कानूनी उपाय र सञ्जालमार्फत अफगानिस्तान पुगेका पीडित कामदारले काबुलमा अड्किएका अरु साथीभाइलाई समेत घरफिर्ता गर्न समन्वय चाहिरहेको बताए ।

जनही बढीमा १० लाख रुपैयाँसम्म बुझाएर सुरक्षागार्ड काममा हिंडेका नेपालीमध्ये सन्तकुमार लावती(मोरङ), यादव गुरागाईं(मोरङ), रविन घिसिङ(मोरङ), प्रकाश बिक(म्याग्दी), किसन सुनुवार(म्याग्दी) र दिनेश खाती(भक्तपुर) छन् । पीडित कामदारले दिएको उजुरी आधारमा मीना नाम गरेकी शान्ति थापा(काठमाडौं), सागर गहतराज बिक(भक्तपुर), पदम बुढाथोकी(धनकुटा), आरके लिम्बू इजम(काठमाडौं) र सुनिल प्रधान(दार्जिलिङ)सहितका एजेन्टले २१ नेपालीलाई दिल्लीको बाटो हुँदै काबुल लगेका हुन् । ‘हामी त फँस्यौं, घरबारै उठ्ने गरी डुब्यौं,’ मोरङ, उर्लाबारीका यादवले भने, ‘अरु नेपाली दाजुभाइले अफगानिस्तान जाने भनेर सपना नदेख्नुहोस् भन्नका लागि हामी दुतावासमा कुरा राख्न आएका हौं ।’

उनका अनुसार अहिले पनि दिल्लीमै रहेका एजेन्टहरुले एक महिनाभित्र थप ८० नेपालीलाई काबुल पुर्‍याउन ‘सेटिङ’ गरिरहेका छन् ।

अहिले काबुल विमानस्थल नजिकैको बन्दीकोठामा मुस्किलको दैनिकी बिताइरहेका पीडितमध्ये पथरी, मोरङका रुद्र पोखरेलले ‘जे जसरी हुन्छ, घर फर्कन आफूहरुले चाहेको’ कान्तिपुरलाई फोनमा बताए । ‘हामी १५ जना यो बन्दीकोठामा छौं, अहिले पनि आफ्नै घरबाट खर्च मगाएर बिहानबेलुकाको दालरोटी खाइरहेका छौं,’ नेपाल प्रहरीका अवकाशप्राप्त कर्मचारी पोखरेलले भने, ‘हामीलाई यहाँ राखेको २ महिनाभन्दा बढी भएको छ, सबैजना भिसाविहीन बनेका छौं ।’ उनका अनुसार, काबुलमा रहेकी एजेन्ट शान्ति थापा(मीना) पनि एक सातादेखि सम्पर्कहीन रहेको र अरु एजेन्टले फोनमा ‘तिमेरको काम भैहाल्छ, चिन्ता नगर’ भन्दै कुराइरहेका छन् ।
कान्तिपुरबाट

naima expoTop Changing Nepal

युट्युब सट्स