Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

आजदेखि कक्षा १२ को परीक्षा सुरु, पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, बैशाख, २१
आजदेखि कक्षा १२ को परीक्षा सुरु, पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आज (आइतबार) बिहान ८ बजेबाट देशभर एकसाथ सुरु गर्दैछ । बोर्डकाअनुसार सम्पूर्ण तयारी पूरा भइसकेको र परीक्षार्थीहरू निर्धक्क भएर सहभागी हुन सक्ने वातावरण निर्माण गरिएको छ । परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ।

देशभर एक हजार ५९० केन्द्र र जापानमा थप एक केन्द्रसहित कुल १,५९१ परीक्षा केन्द्र तय गरिएको छ। सबैभन्दा धेरै परीक्षा केन्द्र काठमाडौंमा १६२ छन् भने मनाङ र मुस्ताङमा एक–एक केन्द्र तोकिएको छ।

परीक्षामा देशभरबाट नियमिततर्फ तीन लाख ९५ हजार ९०८ विद्यार्थी सहभागी हुँदैछन्, जसमध्ये एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा छन् । आंशिकतर्फ एक लाख १५ हजार ६१७ परीक्षार्थीसहित कूल परीक्षार्थी संख्या पाँच लाख ११ हजार ५२५ पुगेको बोर्डले जनाएको छ।

मनाङबाट सबैभन्दा कम ४५ विद्यार्थी र काठमाडौँबाट सबैभन्दा धेरै ६८ हजार १३३ विद्यार्थी सहभागी हुँदैछन् । विशेष आवश्यकता भएका विद्यार्थीहरूका लागि विशेष व्यवस्थाको व्यवस्था गरिएको छ । कारागार र बाल सुधारगृहमा रहेका परीक्षार्थीहरूलाई पनि परीक्षा दिने अवसर सुनिश्चित गरिएको छ।

परीक्षा केन्द्रमा सुरक्षाकर्मी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, कर्मचारी तथा कार्यालय सहयोगी गरी ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको छ। परीक्षाको मर्यादा पालना सुनिश्चित गर्न विशेष निगरानीको व्यवस्था गरिएको छ।

परीक्षा अवधिभर केन्द्राध्यक्षबाहेक कसैले पनि मोबाइल फोन लैजान नपाउने व्यवस्था गरिएको छ। परीक्षा हलभित्र मोबाइल, स्मार्ट घडी, र अन्य इलेक्ट्रोनिक सामग्री लैजान पूर्णतः निषेध गरिएको छ (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटर बाहेक)।

परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, र उर्दू व्याकरण विषयहरूको परीक्षा लिइँदैछ।

परीक्षा मर्यादाको उल्लङ्घन भएमा शिक्षा ऐन २०२८ अन्तर्गत कानुनी कारबाही गरिने स्पष्ट चेतावनी पनि बोर्डले दिएको छ।

Top Changing Nepal

युट्युब सट्स