आज घटस्थापना, हनुमानढोकाको दशैंघरमा राखियो जमरा
काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित ऐतिहासिक दशैंघरमा आज बिहान विधिपूर्वक घटस्थापना सम्पन्न गरिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा तोकिएको शुभ साइत अनुसार बिहान ९ बजेर १३ मिनेटमा जौं राखी जमरा छरिएको हो।
घटस्थापना अवसरमा नेपाली सेनाको एक टोलीले परम्परागत मंगल धुन बजाएर वातावरणमा हर्ष उल्लास थपेको थियो। सेनाको टोलीले बढाइँसहित नवरात्र आरम्भको संकेतस्वरूप विधिवत कार्यक्रम सम्पन्न गरेको हनुमानढोका दरबार हेरचाह अड्डाका कर्मचारीहरूले जानकारी दिएका छन्।
आजको दिन, सूर्योदयकालमा प्रतिपदा तिथि परेकाले शास्त्रीय मान्यता अनुसार घटस्थापना गर्न अनुकूल मानिएको छ। शास्त्र अनुसार विधिपूर्वक घट (घडा) स्थापना गरी त्यसमा शक्तिस्वरूपा दुर्गाको आवाहन गरी पूजा गरिन्छ। त्यही घटस्थापनाबाट नवरात्रको सुरुवात मानिन्छ।
साँस्कृतिक परम्परा अनुसार, आज बिहानै नित्यकर्म समाप्त गरी चोखो स्थलबाट बालुवा वा माटो ल्याई पूजा कोठा अथवा दशैंघरमा गाईको गोबरले लिपपोत गरी जमरा छरिन्छ। यही अंकुरित जौंलाई दशमीका दिन देवी दुर्गाको प्रसादस्वरूप ग्रहण गरिन्छ।
दशैंघरमा घटस्थापनासँगै महाकाली, महालक्ष्मी र महासरस्वतीका रूपमा दुर्गा देवीको नवरात्रभर पूजा आराधना गरिनेछ। यो अवधिमा हरेक दिन बलि दिने परम्परा समेत पालन गरिन्छ। हनुमानढोकामा विशेष महत्वका साथ चल्ने यो परम्परा सदियौंदेखि निरन्तर रहिआएको सांस्कृतिक सम्पदा हो।
यस वर्षको टीकाको दिन असोज १६ गते परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीकाको शुभ साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ।
नौ दिन नौ दुर्गाको पूजा
यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौ वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।
आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवम् धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् बताउँछन् । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।
दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजासमेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् ।
नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवम् स्तुतिको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गर्छ ।
सम्बन्धित समाचार
२०८३ भदौ १ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
२०८३ साउन ३१ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

