Jankari Kendra
२७ श्रावण २०८३, बुधबार
Worldlink

नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन

सञ्जय मिश्रा
सञ्जय मिश्रा
२०८३, श्रावण, १२
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन

रौतहट । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको विरोधमा नेपाल चिकित्सक संघले थालेको आन्दोलनको प्रभाव रौतहटमा पनि परेको छ। आन्दोलनको समर्थन गर्दै प्रादेशिक अस्पताल गौरमा इमर्जेन्सी सेवाबाहेक सबै नियमित स्वास्थ्य सेवा स्थगित गरिएको छ।

नेपाल चिकित्सक संघ रौतहट शाखाका अध्यक्ष डा. सुवास कुमार चौधरी र महासचिव डा। मनोज कुमार कौशलले जारी गरेको विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने हिंसात्मक गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गर्दै दोषीलाई तत्काल पक्राउ गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ अनुसार कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरिएको छ।

संघले नारायणी अस्पतालका चिकित्सक डा. प्रमोद गुप्तसहित स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र दुर्व्यवहारको कडा शब्दमा निन्दा गर्दै घटनाको प्रभावकारी अनुसन्धान गर्न तथा सम्बन्धित निकायको जिम्मेवारी सुनिश्चित गर्न माग गरेको छ। साथै घटनामा प्रशासनको भूमिका सन्तोषजनक नरहेको भन्दै सम्बन्धित प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि समेत आवश्यक कारबाहीको माग गरिएको विज्ञप्तिमा उल्लेख छ।

चिकित्सकहरूको सुरक्षाको प्रत्याभूति र दोषीमाथि कारबाहीको माग गर्दै देशभर सञ्चालन गरिएको आन्दोलनअन्तर्गत मंगलबार सरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवाबाहेकका सेवा बन्द गरिएको हो। सोही निर्णयअनुसार रौतहटको प्रादेशिक अस्पताल गौरमा ओपीडी, फोलोअप तथा अन्य नियमित सेवा बन्द रहे पनि आकस्मिक सेवा भने यथावत सञ्चालनमा रहेको अस्पताल स्रोतले जनाएको छ।

नेपाल चिकित्सक संघले आन्दोलनबाट बिरामीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता नभएसम्म थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने जनाएको छ। साथै आन्दोलनबाट सिर्जित परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले वहन गर्नुपर्ने संघको भनाइ छ।

सञ्जय मिश्रा

naima expoTop Changing Nepal

युट्युब सट्स